यस्तो छ माथिल्लो तामाकोशीको वित्तीय अवस्था !

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्ष कम्पनी ५ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा थियो ।

दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको यस कम्पनीको आयोजना सम्पन्न हुने समय लम्बिँदा विद्युत बिक्री गरेर आम्दानी बढाउन सकेको छैन । सोही कारण कम्पनी हालसम्म पनि नोक्सानीमा रहेको जनाएको छ ।

हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ७० करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असारसम्ममा हेर्दा कम्पनीको ३४ अर्ब ५० करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत २ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ६६ पैसा ऋणात्मक थियो । यसको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ३२ पैसा छ ।