बैंकहरूमा पैसा थुप्रिन थालेपछि राष्ट्र बैंकले २० अर्ब तान्दै

काठमाण्डौ । बैंकहरूमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि पैसा तान्ने अर्थात् ‘रिभर्स रिपो’ जारी गरेको छ । ऋण माग्नेहरू नभएपछि अहिले बैंकहरूमा ४० अर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ । यसरी बैंकमा रकम थुप्रिन थालेपछि राष्ट्र बैंकले मौद्रिक औजार अर्थात् रिभर्स रिपो जारी गरेर पैसा जम्मा गर्न लागेको हो ।

आज राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकबाट तान्नका लागि रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकमा पैसा राख्नका लागि बैंक तथा वित्तीय संस्थाले अहिले ३ बजेसम्म बोलकबोल गर्ने समय पाएका छन् ।

यो आर्थिक वर्षमा राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको आज चौथो पटक हो । यसअघि यही असार ७ गते १० अर्ब रुपैयाँको, १० गते २० अर्ब रुपैयाँको र गएको चैतमा पाँच अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो ।

पैसा थुप्रिन थालेपछि अहिले बैंकहरूले धमाधम ग्राहक खोजिरहेका छन् । केही बैंकले त ठूला उद्योगीलाई फोन नै गरेर ऋण लैजान आग्रह गरेका छन् ।