४७ किलो गाँजासहित ६ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरीले ४७ किलो अवैध लागूऔषध गाँजासहित ६ जनालाई हेटौंडा–१५ स्थित प्रहरीको रातोमाटे चेकपोस्टबाट पक्राउ गरेको हो ।

चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको वाग्मती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ४७ किलो गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, वीरगन्ज–१८ का २० वर्षीया दुसमेना खातुन, २१ वर्षीया पुजाकुमारी मण्डल साथै मोटरसाइकलमा सवार पर्साको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्साको वीरगन्ज महानगरपालिका–१४ का ३९ वर्षीय विनोद पासवान रहेको प्रहरीले जनाकारी दिएको छ ।

आरोपितहरूलाई गाँजासहित अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।