पौडेलको कप्तानीमा इमर्जिङ कपका लागि नेपाली टोली घोषणा

काठमाण्डौ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । श्रीलंकामा अर्को हप्तादेखि शुरु हुने इमर्जिङ कपका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले हिजो पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।

नेपालको टोलीमा देव खनालदेखि स्पिनर सूर्य तामाङसम्मका युवा खेलाडीले पूनरागमन गरेका छन् । ज्ञानेन्द्र मल्ल र करण केसीलाई भने विश्राम दिइएको छ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । सन्दीप र दीपेन्द्र जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी–२० क्यानडामा आबद्ध भएका छन् । लिगमा सहभागी हुन दुवै जना क्यानडा जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन् ।

प्रतियोगितामा एसियाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ‘ए’ टिम तथा अरु तीन टोलीले सहभागिता जनाउँदै छन् । यो प्रतियोगिता १३ जुलाईदेखि २३ जुलाईसम्म हुनेछ । इमर्जिङ कपको समूह ‘बी’ मा नेपाल, यूएई, पाकिस्तान ‘ए’ र भारत ‘ए’ छन् । त्यस्तै समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान छन् । नेपालले जुलाई १४ मा पाकिस्तान, जुलाई १७ मा भारत र जुलाई १९ मा यूएईसँग खेल्नेछ ।