सास फेर्न कठिन भएपछि नर्भिक ल्याइएको थियो प्रधानमन्त्रीपत्नीलाई

काठमाडौं । दुई वर्षदेखि अचेत अवस्थामा रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई सास फेर्न कठिन भएपछि बिहान ८ बजे बालुवाटारबाट नर्भिक अस्पताल थापाथली ल्याइएको थियो।

उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई बुधबार बिहानैदेखि स्वासप्रस्वासमा समस्या देखिएको थियो।

‘उहाँको हेरचाह गर्ने नर्सिङ स्टाफ हुनुहुन्छ। उहाँले अचानक फोन गर्नुभयो। मैले तुरुन्तातुरुन्तै नर्भिकको इमरजेन्सी टिमलाई खबर गरेँ। म बालुवाटार पुगेँ। त्यहाँ अक्सिनको मात्र हेर्दै थिएँ। नर्भिकबाट इमरजेन्सीको टोली पनि पुग्यो। हामीले त्यहाँ अक्सिन, इन्जेक्सन आदि लगाएर, दौडाएर अस्पताल ल्यायौं,’ शर्माले भने, ‘यहाँ ल्याउँला ८ बजेको थियो। उहाँ पहिलेदेखि नै नशासम्बन्धी दीर्घ रोगी हुनुहुन्थ्यो। दिमागको नशा सुक्दै जाने, खुम्चने हुन्छ। सँगसँगै उहाँलाई डायबेटिज, हाइपरटेन्सन, उच्च रक्तचाप पनि थियो।’

प्रधानमन्त्री पत्नी सीतालाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको चिकित्सकले जानकारी दिए।

‘दुई वर्षदेखि उहाँको रेस्पोन्स थिएन। सर्भाइबचाहिँ गरिरहनुभएको थियो,’ उनले भने।

अस्पतालले सीतालाई ८ः३३ मृत घोषणा गरेको हो।

माओवादी केन्द्रका सल्लाहकारको भूमिकामा रहेकी उनको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ।

त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अस्पतालमै पुगेर श्रद्धाञ्जली दिए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सीता दाहाललाई श्रद्धाञ्जली दिन नर्भिक पुगेका थिए।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीलगायत शीर्षस्थ नेताहरूले अस्पतालमा पुगेर दुःख व्यक्त गरेका छन्।

सीता २०५२ सालभन्दा अगाडिदेखि नै राजनीतिमा सक्रिय थिइन्। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र संघर्षमा भूमिगत भएकी दाहाल खुला राजनीतिमा पनि पार्टी काममा सक्रिय थिइन्। विशेषतः शान्ति प्रक्रियापछि उनी पार्टीको सल्लाहकारको भूमिकामा थिइन्।

२०७४ साल मंसिरमा छोरा प्रकाश दाहालको निधन भएपश्चात् उनलाई रोगले गाँज्दै लगेको थियो। पछिल्लो समय उनी ओछ्यान नै परेकी थिइन्।