स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा मागिन् तोसिमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन् ।

मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्दै आएका स्वास्थ्यकर्मीहरूलाई ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुन्डिए हुन्छ ।’ भन्ने अभिव्यक्ति दिएपछि उनले राजीनामा मागेकी हुन् ।

स्वास्थ्यकर्मीहरुले मन्त्रालयसँग दरबन्दी व्यवस्थापनका लागि आग्रह गरेका थिए । उनीहरूले काम गर्न गाह्रो भएर आत्महत्या गरौँ जस्तो भयो कार्य क्षेत्रको व्यवस्थापन गरिनुस् भनेर मन्त्रालयलाई भनेका थिए ।

तर मन्त्री बस्नेतले सहयोग गर्नुको सट्टा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कार्की आक्रोशित भएकी हुन् ।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी कार्कीले नेपालमा हरेक दिन १७—१९ जना युवायुवतीले आत्महत्या गरिरहेको परिप्रेक्ष्यमा तालुकदार मन्त्रीले नै यस्तो अभिव्यक्ति दिनु घातक भएको बताएकी छन् ।