७७ वटै जिल्लामा फैलियो लम्पी स्किन रोग

काठमाडौं । हिमाली जिल्ला मनाङमा पनि लम्पी स्किन अर्थात् गाईबस्तुको (छालामा हुने गिर्खे रोग) भेटिएसँगै ७७ वटै जिल्लामा यो रोग फैलिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा पहिलोपटक लम्पी स्किन रोग भेटिएको जानकारी दिएसँगै देशैभर यो रोग फैलिएको छ पुष्टि भएको हो।

लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ ।

ज्वरो आएको पशुलाई बथानबाट अलग्गै राख्न, आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डा।रामनन्दन तिवारीको आग्रह छ । पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजारभन्दा धेरै पशु चौपायामा यो रोग देखिएको छ ।

सङ्क्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् । अहिले २ लाख ४४ हजारभन्दा धेरै पशुमा रोगको सङ्क्रमण छ । समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसके झण्डै २५ लाख पशुचौपायामा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने नेपाल पशु चिकित्सा परिषद्को अनुमान छ ।

लम्पी स्किन रोग नियन्त्रणमा सरकार गम्भीर नभएको र राहतको मागसहित किसानले आन्दोलन थालेका छन् । गाईबस्तु मरेर अर्बौँ रुपैयाँको नोक्सानी हुँदा समेत राहतका कुनै कार्यक्रम नआउँदा किसान मर्कामा परेका छन् ।