असारमा विकासको मूल फुटेको देख्न पाएँ, त्यसैले ६ वटा महिनाको नाम असार राखौँ : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले ६ वटा महिनाको नाम असार राख्न व्यङ्ग्यत्मक प्रस्ताव राखेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले यस्तो प्रस्ताव राखेका हुन् ।

“म पञ्चाङ्ग समितिलाई कम्तीमा ६ वटा महिनाको नाम नै असार राखिदिनु अनुरोध गर्दछु । असार महिना लागेदेखि मेरो निर्वाचन क्षेत्रसहित देशका धेरैतिर विकासको मूल नै फुटेको देख्न पाएँ । धमाधम रिङरोडमा, सर्भिस ट्र्याकमा ढलका पाइपहरू बिछ्याउँदै गरिएको देखेँ । धेरैतिर रातदिनस त्यो पनि झमझम पानी पर्दै थियो तर, कालोपत्रे हुँदै थियो । केही दिनदेखि त्यही कालोपत्रे गरिएको सडकमा ढलका पाइपहरू बिछ्याउन, खानेपानी पाइपहरू बिछ्याउन अनि विद्युत्‌को तार अन्डरग्राउन्ड गर्न भन्दै खन्न सुरू गरिएको थियो । असार सकि त गयो,” उनले भने ।

उनले थपे, “गाड्दा-गाड्दै गरेको ढल, जोड्दा-जोड्दै गरेको खानेपानीको पाइप, बनाउँदा-बनाउँदै गरेको फुटपाथ त्यत्तिकै रोकियो । वर्षाको सिजन, पानी पर्न थालेपछि अस्ति गरेको काम पनि स्थगित भयो । पानीले बाटोमा खाल्डै-खाल्डो बनायो । अब ११ महिना नेताहरूको काम त्यही खाल्डो परेको सडकबारे भाषण ठोक्न र सोझा जनतालाई फसाउने काममा समय खर्चिने ।”

उनले नेपालमा पुँजीगत खर्च ज्यादै कम हुने गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।