व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्राको बिदाई

काठमाडौं । इजरायलमा व्यावसायिक फुटबल खेल्न जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टीमकी खेलाडी सावित्रा भण्डारीलाई बिदाई गरिएको छ।

बुधबार खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले सावित्रा भण्डारीलाई बिदाई गरेका हुन्।

सावित्राले इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्ने छिन्। बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री लिम्बुले इजरायली क्लबमा अनुबन्धित भएर युरोपबाट प्रतिस्पर्धा गर्नु नेपालका लागि पनि खुसीको कुरा भएको बताए। उनले खेल क्षेत्रको माध्यमबाट नेपाल–इजरायलको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे।

त्यस्तै सावित्रा भण्डारीले इजरायलमा व्यावसायिक फुटबल खेल्न लाग्दा सरकारका तर्फबाट गरिएको सम्मान प्रति आभार व्यक्त गरिन्। उनले युरोपीयन लिग खेल्नु चूनौति भएपनि आफू सामना गर्न तयार रहेको बताइन्।

सावित्राले नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने जिकिर गरिन् । नेपाली महिला राष्ट्रिय फुटबल टीमकी ट्राइकर सावित्राले यसअघि भारतीय क्लबबाट पनि व्यावसायिक लिग खेलिसकेकी छन्।