बोल्दाबोल्दै सभापतिले रोकेपछि गच्छदारको गुनासो – धेरै कुरा बोल्दा असहज होला,म बोल्दिनँ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले आफू बोलेका बेला सभापति शेरबहादुर देउवाले बीच-बीचमा रोक्ने गरेको गुनासो गरेका छन्।

आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै गच्छदारले सभापतिले बेलाबेला रोकिँदिँदा आफूलाई मद्दत नै पुगेको बताए।

सभापति देउवाले बोल्न दिइएको समय सकिएको संकेत गरेपछि गच्छदारले असन्तुष्टि जनाएका हुन्।

‘मैले बोल्दा सभापतिजीले बेलाबखत रोक्ने गर्नुहुन्छ। यसले मलाई मद्दत नै पुग्छ,’ गच्छदारले भने, ‘अहिले अलमल्याइदिनुभयो। भर्खर ३ मिनेट गएको छ। ७ मिनेट त समय छ। पछि समय थपिदिनुहोला वा नथप्नुहोला त्यो तपाईंको अधिकारको कुरा हो। धेरै कुरा बोल्दा असहज होला, म बोल्दिनँ।’

आफूलाई एजेन्डामाथि बोल्न कम्तीमा १५ मिनेट चाहिने उनले बताए। ‘तर त्यति धेरै म बोल्दिनँ,’ उनले भने।

सभापति देउवाले गच्छदारलाई बोल्न आग्रह गरेका थिए।

गच्छदारले नीति अधिवेशन गर्न आग्रह गरेका थिए।

‘सकेसम्म मंसिरभन्दा अघि नै नीति अधिवेशन गर्नुहोस्,’ उनले भने, ‘कांग्रेस कुन ठाउँमा उभिएको छ ? सिद्धान्त र विचार के हो बताउनुस् महामन्त्रीजीहरू। विद्वान पदाधिकारीहरूसँग म बहस गर्न तयार छु।’

गच्छदारले ७ मिनेटमा पनि कुरा नसिध्याएपछि सभापति देउवाले फेरि रोकेका थिए। सभापति देउवाले समय सकिएको बताएका थिए। गच्छदारले भने १ मिनेट थपिदिन आग्रह गरेका थिए।

तर सभापति देउवा मानेनन्। सबैलाई ७ मिनेट समय दिएको देउवाको भनाइ थियो। केही बेरपछि देउवाले ल एक मिनेटमा सक्नुस् भनेका थिए।

यसपछि पनि गच्छदार बोलिरहेका थिए तर लाइभमा आवाज सुनिएको थिएन।