नहरमा भेटियो एक युवकको शव

काठमाडौं । सप्तरीमा एक युवक मृत फेला परेका छन्।

शुक्रबार बिहान साढे ६ बजे हनुमाननगर कंकालिनी नगरपालिका- १० इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल मृत फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए।

डिएसपी सिंहका अनुसार तिलाठी कोइलाडी गाउँपालिका-७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन्। शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको देखिएको डिएसपी सिंहले जानकारी दिए।

‘उनको अनुहार र शरीरमा रगत देखिएको छ। घटनाको प्रकृति हेर्दा हत्या नै भएको देखिन्छ,’ सिंहले भने।

तिरिकनारायणका साथी हनुमाननगर कंकालिनी-११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन्।

उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको डिएसपी सिंहले जानकारी दिए।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली जाँदै छ। अहिले घटनास्थलमा इन्स्पेक्टरको टोली परिचालन गरिएको डिएसपी सिंहले जानकारी दिए।