बाँदरले मकै सखाप पार्न थालेपछि किसान चिन्तित

काठमाडौं । अर्घाखाँचीमा बाँदरले मकै खान थालेपछि कृषक चिन्तित बनेका छन् ।बाँदरले मकै सखाप पार्न थालेपछि किसान रातभर अनिदो बस्न थालेका छन्। सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाडा, खाबडाडा, वागला, डिभर्ना , भुमिकास्थानको धनचौर ढिकुरा, शितगंगा नगरपालिका, पाणिनि गाउँपालिका ,मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका अधिकांश गाउँमा बाँदरले मकै सखाप पारेपछि किसान चिन्तित बनेका हुन्।

किसान मकै जोगाउन काम छोडेर बाँदर धपाउन लागिपरेका छन् । ुबाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ,बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेको सन्धिखर्क २ भलायडाँडाका कृषक ठाकुर शालिक पोख्रेलले बताए ।

सन्धिखर्क ८ किमडाँडाका किसान उमकला बन्जाडेले बाँदरले मकैबाली नष्ट गर्न थालेपछि भोकमरी पो हुने हो कि भन्ने चिन्ताले सताउन थालेको दुखेसो पोखे। वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्न थालेपछि अरू कामधन्दा छाडेर बाँदर धपाउनमै व्यस्त हुने गरेको भलायडाँडाका कृषक दुर्गा चुँदालीले बताए।

बाँदरबाट बाली जोगाउन एकाबिहानै खेतबारी पुग्नेका कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन् । उनीहरूले खाना र खाजा खाने समय समेत पाउँदैनन् । बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा पुर्‍याइदिने गरेको सन्धिखर्क –२ भलायडाँडाका कृषक भेषराज बन्जाडेले बताए ।

खेतबारीमा फल्दै गरेका बाली मात्र नभइ मान्छे नभएको मौकामा घरभित्रै पसेर समेत अन्नपात सखाप पारिदिने गर्छन्। बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल सखाप गरिदिने गरेको सन्धिखर्क–८ का अगुवा कृषक पुष्करनाथ बन्जाडेले बताए ।

बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेका छन्।