आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारियो

काठमाडौं । सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ । नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकारीका अनुसार सोमबार राति नेत्री सुकीलाई उच्चस्तरीय परिसरमा सारिएको हो ।

उनले तल्लो सदनका सभामुख सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गरेकी छन् । उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् ।

यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए । म्यान्मामा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेत्री सुकीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा उनलाई सारिएको छ ।

निर्वाचित नेत्री सुकीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् । हिरासतमा रहेकी ७८ वर्षीय नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ ।

उनीमाथि भ्रष्टाचार, गैरकानूनीरूपमा वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ ।