सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ठगी मुद्दा दर्ता, आरोपीहरु सबै फरार

काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी कसुरमा अभियोग दर्ता भएको छ।

उक्त सहकारी संस्थाविरुद्ध १६ जना बचतकर्ताले जाहेरी दिएका थिए। आरोपीहरु सबै जना फरार छन्। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार ८ लाख १८ हजार ४ सय ६० रुपैयाँ ठगी गरेको आरोप उनीहरुमाथी छ।

सहकारीका अध्यक्ष ४५ वर्षीय दिपेन्द्रकुमार शाह, उपाध्यक्ष ५२ वर्षीय राजकुमार शाह, सचिव ४४ वर्षीय घनश्यामप्रसाद शाह, कोषाध्यक्ष ३६ वर्षीय शम्भुप्रसाद गुप्ता, सदस्य ३२ वर्षीया पृती कुमारी, सदस्य ६३ वर्षीया विमलादेवी कलवारनी र सदस्य ३२ वर्षीय पुष्पाकुमारी भगत फरार रहेका छन्।

बचतकर्ताहरुको ९ हजार ४ सय रुपैयाँदेखि २ लाख १४ हजार रुपैयाँसम्म ठगी भएको पाइएको छ। सहकारीले बचतकर्ताको रकम फिर्ता नगरी बन्द गरेर फरार भएको जाहेरीमा उल्लेख छ।