प्रधानमन्त्री प्रचण्ड भन्छन् : हाम्रो सरकार बनेपछि जनतामा नयाँ आशा पलाएको छ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार बनेपछि  जनतामा नयाँ आशा पलाएको बताएका छन्।

बुधबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले मा‌ओवादीको नेतृत्वमा गठबन्धन सरकार गठन भएपछि सरकारका कार्यक्रम र गतिविधिबाट जनतामा नयाँ आशा पलाएको बताए।

‘देशको राजनीति जुन विन्दुमा छ, हाम्रो पार्टी र आन्दोलनबाट जनताले आशा अपेक्षा गरेका छन्। हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भएपछि सरकारले अगाडि सारेका कार्यक्रम र गितिविधिबाट जनतामा नयाँ आशा पलाएको छ,’उनले भने।

जनताको आशा र भरोसालाई केन्द्रीय कमिटीको बैठकले जनताको त्यो आशालाई संगठनमा रुपान्तरण गर्न नेता कार्यकर्तामाझ उनले आह्वान गरे। माओवादीमा नेता कार्यकर्ताको विशाल पंक्ति रहे पनि पार्टी भने पार्टीजस्तो भइनसकेको बताउँदै पार्टी पुनर्निर्माणको थालनी गर्नुपर्ने बताए।

ुहामीसँग नेता कार्यकर्ताको विशाल पंक्ति त छ। तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन,’उनले भने, ‘यसलाई कम्युनिष्ट पार्टीको रुपमा पुनर्निर्माण बैठकबाट थाल्नुछ। केन्द्रीय कमिटीका सबैले गम्भीरताका साथ जिम्मेवार र अनुशासित रुपले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनीको सुरुवातमा सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।’

उनले विगतमा केही कमजोरी भएको स्वीकार्दै पार्टी छिन्नभिन्न भएको बताए। उनले भने, ‘विगतमा हाम्रा कमजोरी केही भएका छन्। विभाजनमा जानुपर्‍यो। अब पुनस् एकतामा जाँदैछौँ,’ उनले भने।