पहिरोले यी जिल्लामा भए सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो जानुको साथै डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रमा पहिरो जानुको साथै डुबानमा परेर जलमग्न भएको हो ।

काठमाडौंको विभिन्न ठाउँमा पनि बाढी पसेर घरहरु डुवानमा परेका छन् । यस्तै वर्षाको कारण पहिरो गएर विभिन्न राजमार्गहरु अवरुद्ध बनेको छ । बाढी पहिरोको कारण १२ जिल्लाका सडक अवरुद्ध भएको छ ।

बिहान ११ बजेसम्मको अपडेटअनुसार पहिरो खसेर म्याग्दीको रघुगंगा गाउँपालिका-३ बेशरीस्थित बेनी जोमसोम सडकखण्ड, नुवाकोटको पासाङल्हामु सडकखण्ड, मकवानपुरको कान्ती लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

यस्तै सिन्धुलीको विपी राजमार्ग, काभ्रेको विपी राजमार्ग, पाचँथरको तमोर करिडोर, चितवनको नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी, बाग्लुङको कालीगण्डकी करिडोर, प्युठानको भालुवाङ सडकखण्ड,पाल्पाको सिद्धार्थ राजमार्ग एकतर्फी, कैलालीको भीमदत्त राजमार्ग र डडेलधुराको बतुहर जोगबुढा भित्री सडकखण्ड अवरुद्ध भएको छ ।

विभिन्न ठाउँको पहिरो पन्छयाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।