सन्दीप लामिछाने एसिया कपका लागि टिमसँगै पाकिस्तान नजाने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि राष्ट्रिय टिमसँगै पाकिस्तान नजाने भएका छन्।

बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ लम्बिँदा उनी टिमसँगै पाकिस्तान नजाने भएका हुन्। आन्तरिक तयारी पूरा भएको खण्डमा राष्ट्रिय टिम बुधबार पाकिस्तान प्रस्थान गर्ने तयारी गरिरहेको छ।

उनको गत बिहीबार पछिल्लो पटक पेशी रहेको थियो। तर उक्त पेशीमा पनि अन्तिम सुनुवाइ हुन नसकेपछि उनी टिमसँगै पाकिस्तान जाने सम्भावना नभएको हो।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले टिमसँग सन्दीप पाकिस्तान नजाने बताए।

‘सन्दीपको पेशी लम्बिँदा स्वाभाविक रूपमा ऊ मानसिक रूपमा कमजोर बनेको छ। अदालती प्रक्रियाका कारण पनि ऊ टिमसँग जान सम्भावना छैन। मानसिक रूपमा पनि ऊ तयार छैन’, उनले भने।

उनले सन्दीपको मुद्दाको अर्को पेशीको अहिले नै तय नभएको बताए। अदालतको आदेशअनुसार आमाको जन्ममिति प्रमाणीकरणपछि अर्को पेशी तय हुने घिमिरेले जानकारी दिए।

उनका अनुसार एसिया कप खेल्नका लागि जानेरनजाने अहिले नै तय भएको छैन।

उनले भने, ‘देशको प्रतिनिधित्व गर्ने कुरामा कसैको दुईमत नरहे पनि अदालती प्रकियाले एसिया कपको सहभागिता पक्का हुन्छ।’

यद्यपि विश्वकप छनोटमा जस्तै अन्तिम समयमा अदालतलाई जानकारी गराएर उनलाई पाकिस्तान पठाउने सम्भावना रहेको छ।

सन्दीप मानसिक रूपमा एसिया कप नै नखेल्ने मनस्थितिमा रहेका छन्। तर उनलाई क्यानले मनाउन प्रयास गरिरहेको छ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप मानसिक रूपमा तयार नभएपनि उसलाई क्यानले एसिया कपका लागि तयार गर्नु पर्ने बाध्यता रहेको जनाए।

उनले भने, ‘सन्दीप दोषी या निर्दोष जे भए पनि चाँडो फैसला भएदेखि समग्र क्रिकेटका लागि राम्रो हुन्थ्यो अनि सन्दीपको भविष्यका लागि समेत मुद्दाको किनारा लाग्न जरुरी छ।’

उनले हरेक ठूला प्रतियोगिताअघि सन्दीपलाई मानसिक रूपमा कमजोर बनाउने प्रयासहरू हुने गरेको भन्दै दुस्ख व्यक्त गरे।

पाठकले भने, ‘मुद्दा अदालतमा विचाराधीन छ। तर हरेक ठूला प्रतियोगिता अघि एकतर्फी रूपमा सन्दीपमाथि मानसिक आक्रमण हुँदा स्वाभाविक रूपमा उसले आफूलाई कमजोर फिल गर्छ।’