रिपब्लिकन पार्टीको बहसमा भाग नलिने भन्दै ट्रम्पले भने – जनतालाई थाहा छ म को हुँ ?

काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीसँगको बहसमा भाग नलिने बताएका छन् ।

पूर्व राष्ट्रपतिले नयाँ सर्वेक्षणले २०२४ को चुनावमा पार्टीको उम्मेदवार बन्न अन्य प्रतिद्वन्द्वीभन्दा ‘ठुलो सङ्ख्यामा’ समर्थन रहेको देखाएको बताए ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भने, ‘जनतालाई थाहा छ म को हुँ र मेरो अध्यक्षता कत्तिको सफल भयो ।’

रिपब्लिकन पार्टीले आफ्नो राष्ट्रपतिको उम्मेदवार छनोट गर्न अगस्ट २३ मा पहिलो बहस गर्नेछ । दोस्रो बहस सम्भवतः अर्को दिन हुनेछ । आगामी महिनामा कम्तीमा थप दुई बहसको अपेक्षा गरिएको छ ।

आयोवा राज्यमा रिपब्लिकन प्राथमिक चुनावको लागि मतदान जनवरी १५, २०२४ मा सुरु हुनेछ ।

हालैका सर्वेक्षणले धेरै आपराधिक आरोपको सामना गरिरहेका ट्रम्प अहिले रिपब्लिकन उम्मेदवारको दौडमा अगाडि रहेको खुलासा गरेको छ ।

आइतबार आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा एक पोस्टमा, ट्रम्पले लेखे, ‘हालैको नयाँ सिबिएस पोलले मलाई ‘महत्त्वपूर्ण रूपमा उच्च’ सङ्ख्याको आधारमा अगाडि देखाएको छ ।’

उनका अनुसार फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस लगायत धेरै अन्य दाबेदारहरू धेरै पछाडि छन् ।

उनले लेखेका छन्, ‘जनतालाई थाहा छ म को हुँ र मेरो कार्यकाल कत्तिको सफल रह्यो । मेरो पालामा सीमा र सेना बलियो थियो, मेरो सरकारमा अहिलेसम्मकै सबैभन्दा ठुलो कर र नियमन कटौती भयो, त्यहाँ कुनै मुद्रास्फीति थिएन, इतिहासमा सबैभन्दा बलियो अर्थतन्त्र मेरो शासनकालमा भयो ।’

‘त्यसैले म बहसमा सामेल हुने छैन ।’

ट्रम्पले पछिल्ला महिनामा रिपब्लिकन बहसमा भाग नलिने बताउँदै आएका थिए ।

उनले सर्वेक्षणलाई उद्धृत गरेका छन्, जसमा उनले अन्य उम्मेदवारको तुलनामा बढी जनसमर्थन पाएको देखाइएको छ ।