शिवशिखर र सार्थक सहकारी पीडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सहकारीको बारेमा अनुसन्धान अघि बढेका कारण पीडितहरूले रकम जम्मा गरेको प्रमाणसहित इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरिएको हो ।

तिलोत्तमा नगरपालिका–५ मणिग्राममा रहेको दर्ता नं। ४६/०७८/०७९ को सार्थक बहु बहुउद्देश्यीय सहकारी संस्था र भक्तपुर जिल्ला ठिमी नगरपालिका अन्तर्गत कौशलटार मुख्य कार्यालय रही रुपन्देहीको बुटवल उप महानगरपालिका–१० योगिकुटीमा शाखा कार्यालय रहेको दर्ता नं. ५८८र०६९/०७० को शिव शिखर बहु बहुउद्देश्यीय सहकारी संस्थाबारे प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

शिव शिखरका घरधनीले केही महिनाअघि घर भाडासमेत नपाएको र सञ्चालकसमेत सम्पर्कविहीन भएपछि प्रहरी र उपमहानगरको रोहबरमा घर खाली गराएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले ती सहकारीका सञ्चालक पक्राउ परेकाले पीडितहरूको वास्तविक तथ्याङ्क निकालेर मुद्दा दर्ता गर्नका लागि निवेदन सङ्कलनमा लागिएको जनाए ।