आज सेयर बजार छायो हरियाली

काठमाडौं । आज सेयर बजार हरियाली छाएको छ । आज मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

गत कारोबार दिन अर्थात् सोमबार सेयर बजार १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा पुगेको थियो।

उक्त बिन्दु गत साढे २ महिनायताकै न्यून बिन्दु हो।

यसअघि गत जेठ २९ गते नेप्से १९८६.६७ बिन्दुमा पुगेको थियो। त्यसयता पहिलो पटक सोमबार बजार २००० बिन्दु तल आएको हो।

मंगलबार नेप्से १७.६९ अंकले बढेर २०१५.९८ बिन्दुमा पुगेको छ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।

गत कारोबार दिन १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँमा सीमित भएको छ।

यस दिन २७७ वटा धितोपत्रको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।

कम्पनीको सेयर मूल्य ५७९ रुपैयाँ ५० पैसा पुगेको छ।

यस्तै, इङ्गवा हाइड्रोपावरको सेयरमूल्य ८.९१ प्रतिशतले बढेर प्रतिकित्ता २२० रुपैयाँ कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा लक्ष्मी लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य ४.४२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६९६ रुपैयाँमा सीमित भएको छ।

यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य ४.१९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८०१ रुपैयाँमा झरेको छ।

मंगलबार कुमारी बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ११३ रुपैयाँमा २८ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५८२ रुपैयाँ ९० पैसामा ५ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ।

यस्तै, जलविद्युत समूहको परिसूचक १.६६ प्रतिशतले बढेको छ।