थाइल्याण्डका पूर्वप्रधानमन्त्री पक्राउ, आठ वर्ष जेल सजाय हुने

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएलगत्तै पक्राउ परेका छन् । पक्राउलगत्तै अदालत पुर्याइएका उनलाई त्यसपछि जेल चलान गरिएको छ ।

दूरसञ्चार व्यवसायी थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बैंकक पुगेका थिए । थाइल्याण्डको खाओसोद सञ्चार माध्यम एवं त्यहाँका सार्वजनिक सञ्चारमाध्यमका अनुसार उनी मंगलबार बिहान ९ बजे बैंकक पुगेका थिए ।

सिनावात्राले बैंकक आएलगत्तै त्यहाँका राजालाई सम्मान गरेका थिए । त्यसपछि उनलाई प्रहरीको निगरानीमा सर्वोच्च अदालत लगिएको थियो । उनलाई शक्तिको दुरुपयोगसहित अन्य गम्भीर अपराधका अभियोग लगाइएको छ । यस घटनालाई थाक्सिनका समर्थकले राजनीतिक प्रतिशोधका रूपमा अथ्र्याएका छन् ।

‘बुबा थाइल्याण्डमा यहाँलाई स्वागत छ,’ उनकी छोरी पइटङटार्न सिनावात्राले आफ्नो इन्टाग्राममा परिवारको तस्बिर राख्दै भनेकी छन्, ‘उहाँ कानुनी प्रक्रियामा प्रवेश गर्नुभयो ।’

अदालतपछि उनलाई बैंकको जेलमा लगिएको थियो । सर्वोच्च अदालतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले भनेको छ– उनले आठ वर्षको जेल सजाय भोग्नेछन् ।

सन् २००१ मा ग्रामीण जनतालाई राज्यको सम्भ्रान्त वर्गले बेवास्ता गरेको जस्ता लोकप्रिय अपिल गर्दै थाक्सिन सत्तामा पुगेका थिए । त्यसको पाँच वर्षपछि उनले न्युयोर्कमा संयुक्त राष्ट्रलाई सम्बोधन गर्ने तयारी गर्दै गर्दा सन् २००६ मा थाइल्याण्डको सेनाले सत्ता कब्जा गरेको थियो ।

उनलाई देशको मुस्लिम बाहुल्य रहेको दक्षिणी प्रान्तमा हिंसात्मक द्वन्द्व मच्चाएको र हजारौँको ज्यान लिने लागुऔषध युद्धमा प्रयोग गरेकाजस्ता गम्भीर मानवअधिकार उलंघनका आरोप लगाएर सन् २००८ मा निर्वासनमा पठाइएको थियो ।

सन् २००६ मा कु भएयता थाइल्याण्डमा उनका सर्थकले आन्दोलन गर्दै आएका छन् ।