निकै विवादीत बनेको खेलमा अल–नासरको पुनरागमन

काठमाडौं । साउदी प्रोलिग क्लब अल–नासर एसियन च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको छ । निकै विवादीत बनेको खेलमा शबाब अल अहलीलाई ४–२ गोलले हराउँदै अल–नासरले प्रतियोगितामा स्थान बनाउन सफल भएको हो ।

खेलमा ब्राजिलियन फरवार्ड एन्डरसन टालिस्काले खेलको ११ औँ मिनेटमा अल–नासले अग्रता दिलाएका थिए । तर, याहया अल–घसानीले १८ ओँ मिनेट नै खेल बराबरी गरे ।

दोस्रो हाफको सुरुवातमा नै घसानीले अर्को गोल थप्दै शबाबलाई अग्रता दिलाए । शबाब जीततर्फ अग्रसर बनिरहँदा खेलको ८८ औँ मिनेट सुल्तान अल–घानमले अल–नासरका लागि बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी समयमा टालिस्का र मार्सेलो ब्रोजोभिचले गोल गर्दै टोलीलाई जीत दिलाए ।

यसअघि पहिलो हाफमा रेफ्रीका निर्णय निकै विवादित बनेको थियो । क्रिस्टिानो रोनाल्डोको तीनवटा पेनाल्टीको अपिल खारेज गरिएको छ । दुईपटक उनलाई डी–एरियामा लडाइएको थियो भने एक पटकको उनको प्रहारमा विपक्षी खेलाडीको हातमा लागेको थियो । हाफ टाइममा रोनाल्डो आक्रोसित हुँदै मैदान छाडेका थिए ।

यो जीतसँगै गत सिजन घरेलु लिगमा दोस्रो बनेको अल–नासर अब अर्को महिनादेखि हुने प्रतियोगितामा भाग लिनेछ ।