अख्तियारको कर्मचारी भन्दै व्यापारीलाई धम्काएर पैसा उठाउने दुई जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै व्यापारीलाई धम्काएर पैसा उठाउने दुई जना पक्राउ परेका छन् ।

धनुषाको हंशपुर नगरपालिका–३ का ३७ वर्षीय अनिल सिंह र ३२ वर्षीय राहुल सिंहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । ११ साउनदेखि १५ भदौसम्म जनकपुरधामका विभिन्न पसलमा पुगेर आफूहरू अख्तियारका कर्मचारी रहेको भन्दै उनीहरूले व्यवसायीलाई धम्काएर रकम असुली गर्दै आएका थिए ।

व्यापारीहरूलाई ‘पसलका कागजातहरू देखाऊ, पसलको खानतलासी गर्छौं, पसल शिल गरिदिन्छौँ’लगायतका धम्की दिएर उनीहरूले व्यापारीसँग नगद रकम असुल गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीले उनीहरूले प्रयोग गर्ने बीआर ३० एबी ८८०४ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ । उनीहरूलाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको डीएसपी गौतमले बताए ।