महिला विश्वकप छनोट : नेपालले पाँच ओभरमा १० रन जोडेर गुमायो चार विकेट

काठमाडौँ । आईसीसी महिला टी—२० विश्वकपअन्तर्गत एसियाली क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा थाइल्यान्डबाट एक सय ६ रनको लक्ष्य पाएको नेपालले पाँच ओभरमै चार विकेट गुमाइसकेको छ ।

मलेसियामा जारी उक्त प्रतियोगितामा टोलीको कुल स्कोर केवल १० रन रहँदै नेपालले चार विकेट गुमाएको हो । नेपालकी ओपनर काजल श्रेष्ठ शून्य रनमै पेभेलियन फर्किइन् । त्यसपछि इन्दु बर्मा तीन रन बनाएर आउट भइन् ।

त्यसलगत्तै कप्तान रुबिना क्षेत्री पनि शून्य रनमै पेभेलियन फर्किएकी थिइन् । ओपनर सीता रानामगर पनि चार रन बनाएर आउट भइन् । उनले १० बलको सामना गरी एक चौका हिर्काएकी थिइन् । नेपाली ब्याटरले अत्यन्तै फितलो प्रदर्शन गरे ।

त्यसअघि टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । थाइल्यान्डका लागि नानापत कोन्चारोएन्काइले ५९ रनको योगदान गरिन् । उनले ६३ बलको सामना गरी चार चौका पनि प्रहार गरिन् । नाथाकन चान्थमले पनि टोलीका लागि ३१ रनको योगदान गरेकी थिइन् । नेपाली बलर कविता कुँवर र पूजा महतोले एक—एक विकेट लिएका थिए ।

सेमिफाइनल खेलमा विजयी भए नेपाल इतिहासमै पहिलो पटक टी—२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । यसअघि नेपाली महिला टोलीले टी—२० विश्वकपको ग्लोबल छनोट खेल्ने अवसर पाएको छैन । त्यसैले यो नेपालका लागि निकै सुनौलो अवसर थियो ।