कार्यकक्षमा महिला सहकर्मीसँग यौनजन्य गतिविधिमा संलग्न भएको भिडियो बाहिरिएपछि राईले पाएको इन्टेग्रीटी अवार्ड रद्द

काठमाडौं । अकाउन्टबिलिटी ल्याब नेपालले काजिमान राईले प्राप्त गरेको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द गरिएको जनाएको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिइएको हो ।

इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका राई कार्यकक्षमै सहकर्मीसँग अनैतिक गतिविधिमा संलग्न भएको भिडियो बाहिरिएको थियो । त्यसपछि यसबारे उनीसँग जवाफ लिएपछि उनलाई दिएको अवार्ड रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ुतत्कालीन समयावधिमा प्राप्त जानकारी, सूचना र इन्टेग्रीटी आइकन नेपालले तय गरेको मापदण्डको आधारमा उक्त अवार्ड प्रदान गरिएको थियो,ु विज्ञप्तिमा भनिएको छ, ‘त्यसपश्चात पनि उहाँले नेपालको प्रशासनिक क्षेत्रमा आफ्नो आचरण र कुशल कार्यशैलीले अरुलाई पनि प्रेरित गर्नुहुनेछ भन्ने विश्वास थियो । तर, समाचारहरूमा देखिएको अमर्यादित कार्यले हामीलाई स्तब्ध बनाएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘आयोजक संस्थाको निर्णय बमोजिम निज काजिमान राईलाई दिइएको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द गरिएको व्यहोरा सार्वजनिक रूपमा जानकारी गराउन चाहन्छौँ ।’