विश्वकप छनोट : मेसीको गोलमा अर्जेन्टिनाको विजयी सुरुआत

काठमाडौं । लियोनल मेसीले फ्रि–किकबाट उत्कृष्ट चिरपरिचित गोल गर्दै अर्जेन्टिनालाई दक्षिण अमेरिकी विश्वकप छनोटमा बिहीबार विजयी सुरुआत दिलाएका छन् । विश्वकप च्याम्पियन अमर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।

अन्य खेलमा कोलम्बियाले भेनेजुएलालाई १–० ले हरायो भने १० खेलाडीमा सीमित पेरुले पाराग्वेलाई गोलरहित बराबरीमा रोक्यो । यी खेलसँगै निकै लामो समयसम्म चल्ने दक्षिण अमेरिकी विश्वकप छनोट सुरु भएको हो ।

डिसेम्बरमा मात्रै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका मेसीले सन् २०२६ को प्रतियोगितासम्म आफूले खेल्ने होरहोइन, त्यसबारे प्रस्ट भनेका छैनन् । इक्वेडरविरुद्ध भने लउटारो मार्टिनेजले ७८औं मिनेटमा फ्रि–किक जिते । यसैमा मेसीले गोल गरेका हुन् ।

यो गोलसँगै मेसीले दक्षिण अमेरिकी विश्वकप छनोटमा सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । उनीसँगै लुइस स्वारेजले गरेको गोल संख्या २९ पुगेको छ ।