सुन तस्करी प्रकरण : तस्करहरुबीच सबै कुराकानी अनलाइन प्लेटफर्ममार्फत भएकाले प्रमाण जुटाउन सकस

काठमाडौं । ६० किलो सुन प्रकरणमा संलग्नहरूबीच सूचना आदानप्रदान अनलाइन प्लेटफर्ममार्फत भएकाले प्रमाण जुटाउन सकस भएको छ ।

तस्करीको आरोपमा पक्राउ परेका र अन्य शंकास्पद व्यक्तिबीच वी च्याट, ह्वाट्स एप तथा इमोजस्ता म्यासेजिङ एपमार्फत कुराकानी भएकाले प्रमाण जुटाउन सकस भएको नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारीहरू बताउँछन् ।

पक्राउ परेका चिनियाँ नागरिकले वी च्याट, ह्वाट्स एप र इमोमार्फत नै सूचना आदानप्रदान गरेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

‘सबै सूचना वी च्याट, ह्वाट्स एप र इमोमार्फत आदानप्रदान भएको रहेछ, सम्बन्धित कम्पनीहरूले सजिलै रेस्पोन्स नगर्दा समस्या भएको छ,’ ती अनुसन्धान अधिकारीले भने ।

तस्करीका विभिन्न तहमा रहेका व्यक्ति तथा भरियाहरूबीच यिनै म्यासेजिङ एपमार्फत कुराकानी भएको देखिएको उनले बताए ।

‘सुन ल्याउने व्यक्तिदेखि भरियासम्मको च्यानलमा अनलाइनबाटै कुराकानी भएको देखिन्छ,’ ती अधिकारीले भने, ‘सुन कसरी आउँदैछ, कहाँ आइपुग्यो, कहाँसम्म लैजाने सबै कुराकानी तिनै माध्यमबाट भएको पाइएको छ ।’

पक्राउ पर्नुअघि सबैजसोले कुराकानी तथा सूचनाहरू डिलिट गरेका थिए । अब त्यसमा एक्सेस पाउनका लागि सम्बन्धित म्यासेजिङ एप कम्पनीहरूले नै सहयोग गर्नुपर्ने हुन्छ ।

ह्वाट्स एप र इमो अमेरिकी कम्पनी हुन् भने वी च्याट चिनियाँ कम्पनी हो । ह्वाट्स एप र इमोको हकमा भारतस्थित डिभिजनले नेपाल पनि हेर्ने गर्छ । वी च्याटको हकमा चीनमै सम्पर्क गर्नुपर्छ ।

चीनसँग नेपाल सरकारले म्युचुअल लिगल असिस्टमेन्ट ट्रिटी (एमएलएटी) गरेको छ, तर भारतसँग छैन, जसले गर्दा थप असहज भएको छ ।

भारतबाट त्यस किसिमका सूचना ल्याउन कानूनी रूपमा जटिलता देखिएको छ । अर्कातर्फ चीनसँग एमएलएटी सम्झौता भए पनि सहज रूपमा सूचना भने पाउन नसकिएको अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकारीले बताए ।

‘एमएलएटी सम्झौता भएका देशहरूबाट समेत सूचना र अपराधसम्बन्धी तथ्यांक पाउन असहज भएको छ,’ सीआईबीका ती अधिकारीले भने ।

एमएलएटी यहाँ अपराध गरेर अर्को देशमा गई लुकेका तथा त्यहाँबाट यता आएर अपराध गरेका व्यक्तिहरूसम्बन्धी सूचना र अपराधमा संलग्न व्यक्तिलाई आदानप्रदान गर्ने सम्झौता हो ।

साउन २ गते त्रिभुवन विमानस्थल भन्सार पास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

हङकङबाट आएको उक्त सुनसम्बन्धी प्रारम्भिक अनुसन्धान गरेर विभागले बाँकी अनुसन्धान सीआईबीलाई सुम्पिएको थियो ।

२ गते पक्राउ परेका व्यक्तिलाई समेत ३ गते मात्र पक्राउ पुर्जी दिइएकाले त्यसको ६० दिन अर्थात आगामी शुक्रवारभित्र अदालतमा मुद्दा दायर भइसक्नुपर्छ ।

सरकारी वकिललाई मुद्दा अभियोजनको तयारीका लागि समेत समय लाग्ने भएकाले सीआईलाई अनुसन्धान सक्न अब ४-५ दिनको मात्र समय बाँकी छ ।

राजश्व अनुसन्धान विभाग र केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेर आज (शुक्रवार) सम्म २७ जनालाई पक्राउ गरेको छ ।

असार २ गतेदेखि सीआईबीलाई विभागले मुद्धा बुझाउँदासम्म १८ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये एक जना महिला क्यान्सरको विरामी भएका कारणले आवश्यक पर्दा ल्याउने सर्तमा परिवारको जिम्मा लगाएको थियो ।

रावश्व अनुसन्धान विभागले दोलखाको मेलुङ गाउँपालिका–३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जीक्वाङ लिन र राजन श्रेष्ठलाई पक्राउ गरेको थियो ।

यस्तै, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी ९विमानस्थल भन्सार कार्यालय० कुमार ढकाल, नायब सुब्बा ९भन्सारमा एक्सरे हेर्ने० सरोज श्रेष्ठ, नक्सालबाट ९गोदाम खोजिदिएको आरोप० सुरेन्द्र तामाङ र बेल्जियन नागरिक दावा छिरिङलाई पनि पक्राउ गरेको थियो ।

विभागले साउन २१ गते सीआईबीलाई मुद्धा बुझाएपछि अरु पक्राउ परेका हुन् । सिआईबीले टीयान मी, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, भन्सारका कर्मचारी गणेश पौडेल, दावालाई सहयोगीका रुपमा किशोर बस्नेत, सीमा नाकाबाट भारतमा सुन पुर्याउने सुमन खरेल र बारा सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शिवकुमार सर्राफलाई पक्राउ गरेको छ ।

पक्राउ परेका २७ जना सबै सीआईबीको हिरासतमा छन् ।

लोकान्तर