मन्त्री बस्नेत भन्छन् : कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीलाई कारवाही हुन्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीलाई कारवाही गर्ने बताएका छन् ।

इजिप्टमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारवाही हुने बताए ।

उनले भने, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारवाही हुन्छ ।”

मन्त्री बस्नेतले इजिप्टमा सम्पन्न सम्मेलनमा जनसङ्ख्या बसाइँसराइ र अव्यवस्थित बसोवासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र समाधानका उपायका विषयमा वृहत् छलफल भएको जानकारी दिए ।