तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सबै कार्यालयको झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बिहान आकस्मिक बसेको एमाले सचिवालय बैठकले सो निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए।

नेता ज्ञवालीका अनुसार देशका सबै पार्टी कार्यालय, प्रदेश र इलाममा पार्टीको झण्डा तीन दिनसम्म झुकाइने छ ।

बैठकमा संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् पार्टी उपाध्यक्षको लगायत हरेक आयाम र भूमिकामा नेम्वाङले आफूलाई खरो साबित गरेको मूल्याङ्कन भएको छ ।

उनले भने, “अत्यन्त दुख, पीडा, शोकको बीचमा यो बैठक सम्पन्न गरेका छौं । पार्टीका उपाध्यक्ष संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभामा चार पटकसम्म, सभामुखमा खेल्नुभएको भूमिका, अत्यन्त लोकप्रिय नेता सुवासचन्द्र नेम्वाङको १ः५० बज हृदयघातका कारण मृत्यु भएको छ ।” नेम्वाङप्रति श्रद्धासुमन अर्पण गर्दै उनले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन बैठकमा भएको उनको भनाइ छ ।

एमालेले संविधानसभाको दुई पटकसम्म अध्यक्ष कुशलतापूर्वक निर्वाह गरेको भूमिका, जस्तोसुकै तनावबीच पनि सबै पक्षलाई समेटेर सहमति र निकास निकाल्न सक्ने नेम्वाङको व्यक्तित्वको नेपाली राजनीतिक आन्दोलनमा लामो समय अभाव हुने बताएको छ ।

उहाँले आगामी असोज २ गते पार्टी केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभाको आयोजना गर्ने जानकारी दिए ।