नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन को-को पुगे पार्टी कार्यालय ?

काठमाडौं । मंगलबार राति हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिएको छ।

हृदयघात भएपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराउने क्रममा मंगलबार राति १ : ३० बजे निधन भएका नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिएको हो।

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्षहरू युवराज ज्ञवाली,रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य,सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा,उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिन्।

नेम्वाङप्रति श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन च्यासल पुगेका छन्।

एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली दिएका छन्। यसैगरी नेम्वाङलाई नेकपा समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल,उपसभामुख इन्दिरा राना मगरलगायतले श्रद्धाञ्जली दिएका छन्।

अहिले एमालेका शीर्ष नेता तथा कार्यकर्ता,शुभेच्छुकहरूको श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा भीड लागेको छ। नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यालयमा राखिने जनाइएको छ। सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

एमालेले नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । यसैगरी नेम्वाङको निधनपछि च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले एमाले केन्द्रीय कार्यालय,प्रदेश कार्यालय र उनको निर्वाचन क्षेत्र इलाममा शोकपुस्तिका राख्ने निर्णय समेत गरेको छ।