आपराधिक लाभ लिएको आरोपमा एक जना पक्राउ

काठमाडौं । आपराधिक लाभ (एक्सटोर्सन) लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई काँडाघारीबाट पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सुरजकुमार श्रेष्ठ पक्राउ परेका हुन्।

उनीसहित केही व्यक्तिहरूले भदौ २० गते काँडाघारीस्थित घरजग्गा कारोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा पीडितलाई बन्धक बनाएका थिए। उनले पीडित बोले वा कराएमा ज्यान समेत मार्ने धम्की दिएर २० लाखको चेक र साढे ८ लाख कागज गराएको एसपी रेग्मीले बताए।

यसरी आपराधिक लाभ लिएको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

आपराधिक लाभ लिन नहुने कसुरमा म्याद थपेर अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं‌‌मा पठाएको कार्यालयले जनाएको छ। यसमा संलग्न अन्य व्यक्तिहरू फरार छन्। उनीहरूको पनि खोजी भइरहेको एसपी रेग्मीले बताए।

पक्राउ परेका श्रेष्ठ यसअघि जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन्। उनी गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ।