एसिया कप : फाइनलमा भारतसँग कुन देशले भिड्ला ?

काठमाडौं । श्रीलंकालाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा प्रवेश गरिसकेको छ । भारतसँग फाइनलमा भिड्न पाकिस्तान र श्रीलंकाको प्रतिस्पर्धा छ । बिहीबार हुने यी दुई देशका टोलीबीचको खेलले फाइनल पुग्ने दोस्रो टिमको निर्क्यौल गर्नेछ ।

श्रीलंका र पाकिस्तान दुवैले एक–एक खेल हारेका छन् । दुवै भारतसँग पराजित भएका हुन् । दुवैले बंगलादेशविरुद्ध भने जित हात पारेका छन् । भारतसँग २ सय २८ रनको फराकिलो पराजयपछि पाकिस्तानको नेट रन रेट माइनस १.८९२ पुगेको छ । नेट रन रेटको आधारमा श्रीलंका अहिले दोस्रो स्थानमा छ ।

श्रीलंकाको नेट रन रेट माइनस ०.२ छ । दुई खेलमा हारेको बंगलादेश एसिया कपको दौडबाट बाहिर गइसकेको छ ।सुपर फोर लिगमा चार अंक जोड्दै भारतले फाइनलमा स्थान बनाएको हो । उता श्रीलंका र पाकिस्तानको समान दुई–दुई अंक छ । अब बिहीबार श्रीलंका र पाकिस्तानबीचको खेलमा हार्ने टोली एसिया कपबाट बाहिरिने छ । भारत यसअघि नै फाइनलमा पुगिसकेकोले अब वर्षाले उसको स्थितिमा असर गर्ने छैन ।

बंगलादेश पहिले नै आउट भइसकेको अवस्थामा बिहीबार श्रीलंका र पाकिस्तानबीचको खेलमा वर्षा बाधक भए त्यसको नराम्रो असर पाकिस्तानलाई पर्नेछ । वर्षाका कारण खेल रद्द भएमा दुवै टोलीले एक–एक अंक पाउनेछन् । यसो हुँदा नेट रन रेटका आधारमा श्रीलंका फाइनलमा पुग्नेछ ।