पूर्वकप्तान ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनित

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको हो ।

बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी स्पाइकर सरस्वती चौधरी सदस्यमा मनोनित भएका छन् ।

ज्ञानेन्द्रले अघिल्लो महिना एसिया कपको मुखमै सबै क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका थिए । सन् २००६ देखी नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेले ।

नेपाली क्रिकेट इतिहासका एक सफल टक्निकल ब्याटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् । ज्ञानेन्द्रले ४५ टि२० आईमा नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका थिए ।

मनोनयनसंगै खेलाडी संघको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । भदौ १९ गते सम्पन्न खेलाडी संघको साधारण सभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

यसअघि उपाध्यक्षमा सागकी दोहोरो स्वर्ण विजेता आयशा शाक्या (तेक्वान्दो), दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोथे (टेबलटेनिस), सचिवमा सागका दोहोरो स्वर्ण विजेता मन्देकाजी श्रेष्ठ (कराते) र कोषाध्यक्षमा आङबाबु लामा (उसु) रहेका थिए ।

बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सन्जिव लामा, टेबलटेनिसका पुरुषोत्तम वज्राचार्य, सुटिङकी फुलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सन्जित डंगोल सदस्यमा चयन भएका थिए ।