ब्रेक शुमा, भेपमा, सिग्रेटमा जे छोयो त्यो सुनैसुन, स्वर्ण युग आयो भन्दैछ सरकार : केपी ओली

फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जे छोए पनि सुनैसुन भेटिएको हुँदा सरकारलाई स्वर्ण युग नै आएको भन्दै व्यंग्य गरेका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले ब्रेक शु, भेप, सिग्रेटमा सुन आउन थालेकाले सरकारले स्वर्ण युग आयो भनेर भन्न थालेको व्यंग्य गरे ।

उनले भने, ‘सुन त यहाँ त ब्रेक शुमा सुनैसुन, भेपमा सुनैसुन, सिग्रेट खान खोज्यो सुनैसुन, पानी चलाउने मोटर ल्यायो, त्यसमा सुनैसुन, जे छोयो त्यो सुनैसुन, स्वर्ण युग आयो भन्दैछ सरकार ।’

धेरै सुन आएकाले अहिले स्वर्णिम युग नआई कहिले आउँछ भनेर उनले प्रश्न गरे । ओलीले थपे, ‘यति सुन आएको छ स्वर्ण युग नआए कहिले आउँछ त भन्दैछ सरकार । तपाईंहरू भन्दै हुनुहुन्छ सरकारको विरोध गरेजस्तो हुँदैन त्यसोभन्दा, स्वर्ण युग नै आएको छ नि !’

केरुङ भन्सारबाट आउने ट्रकमा पनि सुन बोकिने भन्दै उनले व्यंग्य गरे । उनले तस्करी काण्डहरू चलाएर देश विकास नहुने बताए ।

‘देशलाई सफल बनाउने हो भने तस्करी काण्डहरू चलेका छन् । यस्ता तस्करी काण्डहरू चलाउनु हुँदैन । म काण्डहरू चलेका भनिराखेको छैन, चलाएको भनिराखेको छु । यस्ता काण्ड चलाउनु हुँदैन । काण्डहरू चलाएर देश विकास हुँदैन,’ उनले भने, ‘चील आयो चील आयो भन्ने तर कुखुरा एकातिर बोकेर हिँड्ने ।’