चन्द्रमामा पुग्न सफल भएको चन्द्रयान-३ सम्पर्कविहीन

काठमाडौं । चन्द्रमामा पुग्न सफल भएको भारतको चन्द्रयान–३ सम्पर्कविहीन भएको छ । केही दिनयता चन्द्रयानलाई सम्पर्क गर्न खोजे पनि भारतको अन्तरिक्ष संस्था इस्रो सफल भएको छैन ।

अगस्ट २३ मा चन्द्रमा पुगेको चन्द्रयानले दुई हप्तासम्म फोटो खिच्यो र डेटाहरू संकलन गरेको थियो । चन्द्रमामा रात परेपछि त्यसलाई स्लिप मोडमा राखिएको थियो ।

चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ । यसको अर्थ चन्द्रमामा १४/१४ दिन र रात हुन्छ ।

यतिबेला चन्द्रमामा दिन सुरु भइसकेको छ । दिन सुरु भएपछि घामको प्रकाशले चन्द्रयानको ब्याट्री रिचार्ज हुने र त्योसँग सम्पर्क हुने अनुमान थियो । तर, सेप्टेम्बर २२ अर्थात् गत शुक्रबारदेखिको सम्पर्क स्थापित गर्ने प्रयास सफल हुन नसकेको इस्रोले जनाएको छ ।

चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डर दुवै स्पिलमोडबाट सक्रिय नभएका हुन् । शुक्रबार मात्र इस्रोले सामाजिक संजाल एक्समा भनेको थियो, ‘विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सञ्चार सम्पर्क स्थापना गर्ने प्रयास जारी रहनेछ ।’

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर भारतले इतिहास बनाएको थियो भने भारत चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने अमेरिका, रुस र चीनपछि चौथो राष्ट्र बनेको छ ।

चन्द्रयान–३ सम्पर्कविहीन भइरहँदा भारतीय अन्तरिक्ष संस्था इस्रोका पूर्वप्रमुख किरण कुमारले चन्द्रयान–३ अन्तरिक्षयानको ब्याट्री बिग्रिएको हुनसक्ने अनुमान गरेका छन् । उनी भन्छन्,‘चन्द्रमाको दक्षिणी ध्रुवनजिक रातको तापक्रम नियमित रूपमा माइनस २०० डिग्री सेल्सियस देखि २५० डिग्री सेल्सियससम्म झर्छ, भारतको अन्तरिक्षयानको ब्याट्री यतिको न्यून तापक्रममा सञ्चालन गर्न डिजाइन गरिएको थिएन ।’

अहिलेको अवस्थाले पनि चन्द्ररातको अत्यधिक चिसोले ब्याट्रीहरूलाई क्षति पुर्‍याएको विश्लेषण हुन थालेको छ ।