अभियन्ता ई: लगायत साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ई: लगायत अभियन्तासँग काठमाडौं महानगरपालिकाले छिटो संवाद गर्नुपर्ने बताएका छन्।

अभियन्ता ई: लगायत ६ दिनदेखि राष्ट्रिय सभागृह अगाडि धर्ना दिइरहेका छन्।

‘राष्ट्रिय सभागृह बाहिर छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ई: लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु,’ थापाले सामाजिक सञ्जाल एक्समा आइतबार लेखेका छन्, ‘लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ।’

ई: लगायतले उठाएको मूलतः फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेको थापा बताउँछन्।

‘सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै। त्यसकारण मेरो आग्रह छ-निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस्,’ उनले भने।