अभियन्ता ई: वार्तामा नआएपछि बालेनको आ–क्रोश : के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नु पर्ने ?

काठमाडौं । विभिन्न माग राख्दै उभिएर आन्दोलनमा रहेका अभियन्ता ईस्ले वार्ताका लागि गरिएको आग्रह अस्वीकार गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसमा राजनीतिक स्वार्थ जोडिएको हुनसक्ने आशंका गरेका छन् ।

उनले आन्दोलनस्थलमै पुगेर आफूले वार्तामा बस्न गरेको आग्रह अस्वीकार गरिएको जानकारी दिँदै राजनीतिक स्वार्थ भएर वार्ता अस्वीकार गरिएको हुन सक्ने आशंका गरेका हुन् ।

‘विगत केही दिनदेखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो । उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ, यहाँहरूको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ । सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नुभएको होला भन्ने हामीले बुझेको छौँ ।’

बालेनले अगाडि भनेका छन्, ‘के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नु पर्ने ? स्मरणीय के छ भने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हिजो अभियन्ता ई: का माग पूरा गर्नुपर्ने टिप्पणी गरेका थिए । ‘उहाँहरूको नेता’ भनेर बालेनले गगन थापालाई इंगित गरेको अनुमान गर्न सकिन्छ ।