नेपालकै अग्ला व्यक्तिको नाममा खोलिएको फाउन्डेसनको एम्बुलेन्समा २१ किलो गाँजा,एम्बुलेन्स सहित चालकलाई नियन्त्रणमा

काठमाडौं । मोरङ प्रहरीले २१ किलो गाँजा बोकेको एम्बुलेन्स सहित चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका-१८ बाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुध नगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को- १ च ४६१९ को एम्बुलेन्सबाट साँढे २१ किलो गाँजा नियन्त्रणमा लिएको हो ।

एम्बुलेन्सको डिकीमा लुकाई भारत तर्फ लैजाँदै गरेको अवस्थामा २१.५ किलोग्राम लागु औषध गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालकको साथबाट नेपाली रुपैयाँ ४० हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

राजन अधिकारी फाउन्डेसन धरानद्वारा सञ्चालित उक्त नम्बरको एम्बुलेन्स र चालक धरान–११ का ३८ वर्षीय गङ्गा सरकार र सोही स्थानमा रहेको भारतीय नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । राजन अधिकारी फाउन्डेसन नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको नाममा सञ्चालित हो ।

त्यस्तै, बुध नगरबाट नै साँढे १६ किलो गाँजा बरामद भएको छ। इलाका प्रहरी कार्यालय बुध नगर र अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएका प्रहरी टोलीले विराटनगर–१८ स्थित खेतको परालमा लुकाई राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । लागु औषध गाँजा सहित पक्राउ परेको एम्बुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।