तत्कालीन नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा उठ्नुपर्ने राजस्व रकम ६२ लाख ९१ हजार २०४ रुपियाँ र ठेक्का नभएको भरौटे र बलौटे माटो गैरकानुनी ढङ्गले उत्खनन् गरी बिक्री गर्न दिएको राजस्व १८ लाख ४४ हजार १७७ रुपियाँ गरी जम्मा ८१ लाख ३५ हजार ३८२ रुपियाँ राजस्व चुहावट भएको आरोप चौधरीलाई लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपियाँ जरिवानाको मागदाबी लिइएको आयोगले जनाएको छ ।

त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्कीले प्रतिवेदन तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयलाई अनदेखा गरेको आरोप लागेको छ ।

यसैगरी, तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालले नदीजन्य सामाग्रीको ठेक्का दिँदा ठेक्को न्यूनतम रकम कायम गर्न मिलेमतो गरेका कारण राजस्व चुहावट भएको आरोप छ ।

निश्चल ट्रेडर्स हेटौडाका प्रोप्राइटर तथा ठेकेदार राजेश बछारले सम्झौता सर्त विपरीत बोलपत्र र सम्झौता नभएको दरभाउमा नदीजन्य पदार्थ उत्खनन् र बिक्री गरेको आरोपपत्र बुधबार विशेष अदालत काठमाडौँमा दायर भएको आयोगले जनाएको छ ।