राष्ट्र बैंकले सुन आयातको सीमा बढाएसँगै अब दैनिक २० किलो ल्याउन पाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ।

यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो ।

व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो। सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ।

दसैंतिहार सुनको माग बढ्ने प्रमुख सिजन भएकोले व्यवसायीले कोटा बढाउन आग्रह गरेका थिए।

सामान्य अवस्थामा गत वर्षसम्म दसैँ–तिहारमा दैनिक ४० किलोसम्म सुनको माग हुने भएपनि यसपालि भने माग बढ्न नसकेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन्।

‘१० केजीको सीमा त निकै न्युन थियो तर अहिलेको बजारको माग भने त्यही पनि छैन’ शाक्‍यले भने।

सरकारले विगतमा विदेशी मुद्रा सञ्चिति खिइँदै गइरहेको समयमा सुन आयातमा कडाइ गर्दै दैनिक १० किलोको सीमा लगाएको थियो। अहिले विदेशी विनिमय सञ्चिति पर्याप्त देखिएपछि सीमा बढाइएको हो।