एमाले बागमती अधिवेशन : अध्यक्षमा उम्मेदवारी दिएका पाण्डेले फिर्ता लिए उम्मेदवारी,ढुङ्गेललाई समर्थन गर्ने

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका केशव पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अब बागमती प्रदेशमा अध्यक्षका चार जना प्रत्यासी बाँकी छन् ।

बुधबार प्रदेशको अध्यक्षमा पाँच जनाले उमेदवारी दर्ता गराएका थिए । पाण्डेले अध्यक्षका अर्का उम्मेदवार कैलाश ढुङ्गेललाई समर्थन गर्ने बताएका छन् । बागमतीमा अधिवेशनको चर्चा हुन थालेपछि नै मकवानपुरका कृष्ण दाहाल र रामेछापका ढुङ्गेलको चर्चा बढी थियो । तर उम्मेदवारी दर्ता गर्दा पाँच जना पुगेका थिए ।

एमाले वृत्तमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको साथ ढुङ्गेललाई रहेको चर्चा छ । पाण्डेलाई उम्मेदवारी फिर्ता लिन लगाएर जसरी पनि दाहाललाई रोक्ने रणनीतिमा ओली र पोखरेल देखिन्छन् । दाहाल उपाध्यक्ष विष्णु पौडेलको समर्थनमा अध्यक्षमा उम्मेदवार बनेको बताइन्छ । अहिले ओली पोखरेल एकातर्फ र पौडेल अर्कोतर्फ छन् ।

आफूले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको पाण्डेले बतए । उनले भने, ‘मैले उम्मेदवारी फिर्ता लिएको छु । म उम्मेदवार होइन ।’

आज ८ बजे साँझ सुरु हुने निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग हुनेछ । विद्युतीय मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्न करिब चार घण्टा लाग्ने भएकाले निर्वाचन प्रक्रिया लम्बिने देखिएको छ ।

अध्यक्ष लगायत नयाँ कमिटी चयन गर्न निर्वाचन प्रक्रिया साँझ ८ बजेबाट सुरु हुने बताइएको छ ।