अधिकृतलाई प्रशासकीय अधिकृत बनाएर पठाएको भन्दै घोडाघोडी नगरपालिकाका कर्मचारीद्धारा विरोध

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीहरूले स्वीकृत दरबन्दीअनुसार प्रमुख कार्यकारी अधिकृत खटाउन सामान्य प्रशासन मन्त्रालयलाई माग गरेका छन् ।

आइतबार नगरपालिकाका २९ जना कर्मचारीले स्वीकृत दरबन्दी संरचनाअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाउन सामूहिक रूपमा माग गरेका छन् । यहाँ उपसचिवको दरबन्दी छ ।

तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही १० गते सामान्य प्रशासन समूहका शाखा अधिकृत दानबहादुर ऐडीलाई खटाएको थियो । त्यसलगत्तै यहाँ रहेका २९ कर्मचारीहरूले स्वीकृत दरबन्दी संरचनाअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गरेका हुन् ।

उनीहरूले शिक्षा प्रशासन समूहका उपसचिव खगेन्द्रबहादुर सिंहलाई प्रमुख प्रशासकीय अधिकृत तोक्न पनि माग गरेका छन् । सिंह यसअघि पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।

यहाँका उपसचिव दीपकप्रसाद आचार्य घोडाघोडी नगरपालिकामा सरुवा भएर आएपछि सिंह शिक्षा शाखा प्रमुखका रूपमा कार्यरत थिए । अहिले मन्त्रालयले सिंहभन्दा पनि तल्लो श्रेणीका व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी दिएपछि यहाँका कर्मचारीले विरोध गरेका हुन् ।