रूख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित चार जना एक–एक लाख धरौटी बुझाएर छुटे

काठमाडौं । सल्लाका ३५ वटा रूख काटेको उजुरीपछि पक्राउ परेका वडाध्यक्षसहित चार जना जनही एक–एक लाख धरौटी बुझाएर छुटेका छन्।

रूकुम पश्चिमको चौरजहारी नगरपालिका– ११ का वडाध्यक्ष तुल्से वलीसहित चार जना जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेका छन्।

मनोमानी रूपमा सामुदायिक वन क्षेत्रका रूख फँडानी गरेको उजुरी पछि उनीहरू फरकरफरक समयमा पक्राउ परेका थिए। रूकुम जिल्ला अदालतको आदेश बमोजिम वडाध्यक्ष वलीसहित स्थानीय ५१ वर्षीय दिलबहादुर शाह, ५१ वर्षकै कुले नेपाली र २६ वर्षीय विशाल केसी जनही एकरएक लाख धरौटी बुझाएर आइतबार थुना मुक्त भएका हुन्।

विद्युत् लाइन विस्तारका नाममा स्थानीय सामुदायिक वनका सल्लाका रूखहरू वनसँग समन्वय नै नगरी मनोमानी रूपमा काट्न आदेश दिने र काट्ने कार्यमा संलग्न चारै जनालाई पक्राउ पछि प्रहरी हिरासतमा राखिँदै आइएको थियो ।

डिभिजन वन कार्यालय रूकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले अदालतको आदेशपछि चारै जना धुरौटी बुझाएर रिहा भएको जानकारी दिए।

चौरजहारी नगरपालिका– ११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रका ३५ बोट सल्लाका रूखहरू काटेको भन्दै उनीहरूविरुद्ध उपभोक्ताले उजुरी दिएका थिए।

सोही उजुरीपछि शाहलाई भदौ २९ गते, नेपाली र केसीलाई असोज ८ गते र वडाध्यक्ष वलीलाई असोज ९ गते डिभिजन वन कार्यालय रूकुम पश्चिमको आदेशले प्रहरीले पक्राउ गरेको थियो। वडाध्यक्ष लगायत उनीहरूविरूद्ध गत साउनमै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो। त्यस यता उनीहरू फरार रहँदै आएका थिए।

वली २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनका क्रममा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।