एमाले गण्डकी अधिवेश : अध्यक्ष ओली किन गएनन् त ?

फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गण्डकी प्रदेश अधिवेशनमा अनुपस्थित भएका छन् ।

सोमबार बिहानभर पोखरामा वर्षा भएपछि नआएका अध्यक्ष ओलीले मौसम खुले पनि अन्तिममा नआउने निधो गरेका हुन् । अध्यक्ष ओलीले किन नआउने निर्णय गरे भन्नेबारे नेताहरूले केही बताएका छैनन् ।

अध्यक्ष ओली आफैँले सोमबार बिहान फेसबुकमार्फत आफू पोखरा आउन लागेको जानकारी दिएका थिए । उनी बिहान ११ बजे आएर दिउँसो ३ बजे फर्कने तयारी थियो । तर, बिहानभर वर्षा हुँदा उनी आएनन् । दिउँसो साढे ३ बजे पोखराको मौसम खुलेपछि महासचिव शंकर पोखरेल पोखरा आएका छन् । मौसम १ बजे खुले पनि अध्यक्ष ओलीले गण्डकीको अधिवेशनमा नआउने जानकारी प्रदेश कमिटीलाई गराएका छन् ।

अध्यक्ष ओली मंगलबार हुने बन्द सत्रमा पनि आउने सम्भावना नरहेको एमालेका एक प्रदेश नेताले बताए । प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका दुवै उम्मेदवारलाई खुलेर समर्थन नजनाउने पक्षमा रहेकाले अध्यक्ष ओली मौन बसेको हुन सक्ने ती नेताको विश्लेषण छ ।

अध्यक्ष ओली नआएपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गरेका छन् ।  सम्बोधनका क्रममा महासचिव पोखरेलले आफू आएपछिको उडान स्थगित भएकाले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पोखरा आउन नसकेको जानकारी गराए ।