दोलखाबाट ११ किलो सुन बरामद, चिनियाँ नागरिकसहित ३ जना पक्राउ

काठमाडौं । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङ पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाउने तयारी भइरहेको छ।

यसअघि प्रहरीले यही घटनामा ७ जनालाई पक्राउ गरेको थियो।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय दोलखासँग ब्युरोले पनि अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए।

यस प्रकरणमा प्रहरीले गत असोज १० दोलखाको बिगु गाउँपालिका-३ जामुनेस्थित एक घरमा डेरा गरी बस्ने पाँच जनालाई पक्राउ गरेको थियो।

बिगु गाउँपालिका-१ बस्ने १९ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ को केशर तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ पक्राउ परेका थिए।

केशर तामाङ बस्ने कोठाबाट प्रहरीले सुरूमा चार किलो सुन बरामद गरेको थियो। पछि प्रहरीले ३२ वर्षीय चस्मान (छिरिङ) तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो।

गत शुक्रबार (असोज १२) गते प्रहरीले तीन किलो सुन बरामद गरेको थियो।

अनुसन्धानकै क्रममा थप चार किलो सुन आइतबार दोलखाबाटै बरामद भएको हो।