शून्य समयमा सांसदहरूको प्रश्न : महँगी, कालोबजारीले आकाश छुँदा सरकार के हेरेर बसिरहेको छ ?

काठमाडौँ । सांसदहरूले चाडबाडको मुखमा महँगीले आकाश छोएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले महँगी, कालोबजारी र भ्रष्टाचारले जनताको ढाड सेक्दा सरकार भने कानमा तेल हालेर सुतिरहेको आरोप लगाए । सांसदहरूले चाडबाडलक्षित सहुलियत र राहतका कार्यक्रम ल्याउन समेत माग गरे ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा आर्थिक मन्दी लागेर उद्योगधन्दा बन्द हुने र बेरोजगारीले जनता रन्थनिएको भन्दै राहतका कार्यक्रम ल्याउन माग गरे ।

‘आर्थिक मन्दीले साना तथा मझौला उद्योग बन्द भएका छन् । औद्योगिक क्षेत्र हतोत्साही छ । घोर आर्थिक मन्दी र बेरोजगारीले जनता रन्थनिएका छन्,’ सांसद केसीले अघि भने, ‘पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ । चाडवाडको बेला महँगीले आकाश छोएको छ, यस्तो बेला सरकार के हेरेर बसिरहेको छ ?’

नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकारले बोलीअनुसारको काम गर्न नसकेको भन्दै व्यंग्य गरे । ‘सरकार जे बोल्छ, त्यसको ठीक उल्टो काम गर्छ । त्यसकारण म सरकारलाई सुझाव दिन चाहान्छु कि सरकारले मूल्यवृद्धि बढाउँछु भनोस्, त्यही अहिले आकाशिएको महँगी घटिहाल्ला कि ?’

त्यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले पनि चाडवाडको मुखमा मूल्यवृद्धिले आतंक मच्चाएको बताइन् । ‘चाडबाड नजिकिएको छ, बजारमा कालोबजारी मौलाएको छ,’ उनले भनिन्, ‘महँगीले आकाश छुँदा सरकार के हेरेर बसिरहेको छ ?’

कांग्रेस सांसद उदय शमशेर जबराले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएर राम्रो गरेको, तर राजधानीकै बजारमा फैलिएको कालोबजारी नियन्त्रण गर्न नसकेको आरोप लगाए । ‘चाडबाडको मुखमा बजारमा यसरी महँगी बढेको छ कि भान्सा चलाउन मुस्किल पर्न थालेको छ । तीन महिनाअघि टमाटरको मूल्य ४०/५० रुपैयाँ थियो, अहिले १३० रुपैयाँ पुगेको छ । चिनीको भाउ ८० रुपैयाँ थियो, अहिले १२० रुपैयाँ प्रतिकेजी पुगेको छ । चामलको भाउ २० प्रतिशतले बढेको छ,’ महँगीको फेहरिस्त सुनाउँदै उनले भने, ‘कालोबजारी बढेको छ, सरकारले चाँडोभन्दा चाँडो महँगी र कालोबजारी नियन्त्रणको पहल थालोस्, चाडबाडको मुखमा जनतालाई राहत दिनुपर्‍यो ।’

अर्का सांसद अञ्जनी श्रेष्ठले पनि सरकारले महँगी नियन्त्रणमा काम नगरेको भन्दै आलोचना गरिन् । ‘महँगी, भ्रष्टाचार र विचौलियाको जगजगीले जनतामा त्रास छ, निराशा छ,’ उनले भनिन्, ‘यस्तो बेला सरकार कहाँ छ ? दसैं तिहार नजिकिएको छ, यस्तो बेला बजार सस्तो हुनुपर्ने हो । तर महँगी दोब्बर भइरहेको छ । महँगी नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ?’