नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने र सन् २०२५ सम्ममा ५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

नयाँ आयोजनाहरू सञ्चालन गरी जलविद्युत उत्पादनको निरन्तर विस्तारले औद्योगिक क्षेत्रमा बलियो वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ । कमजोर वित्तीय कार्यसम्पादनका कारण सर्वजनिक ऋण बढेर कुल ग्रार्हस्थ उत्पादनको ४१.३ प्रतिशत पुगेको विश्व बैंकले उल्लेख गरेको छ ।

त्यस्तै थोक तथा खुद्रा व्यापारले आयात प्रतिबन्ध हटाएर सेवा क्षेत्रको वृद्धिलाई बढावा दिने, पशुपन्छीमा लम्पी स्किन रोगको प्रभाव र धान उत्पादनमा आएको ह्रासका कारण चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि सुस्त हुने अनुमान गरिएको छ । विश्व बैंकले मुद्रा स्फीति अर्थात मूल्यवृद्धि पनि उच्च रहने प्रक्षेपण गरेको छ ।