एक आपसमा धार्मिक आस्थाको सम्मान गरौँ, राष्ट्रिय एकता जोगाऔँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक आपसमा धार्मिक आस्थाको सम्मान गर्न आग्रह गरेका छन् । उनले पछिल्लो समय धार्मिक विवादमा नेपालगन्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको पनि सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन् ।

‘हाम्रो समाजको मुख्य विशेषता विविधताबीचको एकता र आपसी सहिष्णुता हो। एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र आस्थाहरू नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएका छन्,’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्लो समय धार्मिक विवादमा नेपालगन्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ। एक आपसमा धार्मिक आस्थाको सम्मान गरौँ । हाम्रो राष्ट्रिय एकता जोगाऔँ ।’