लागुऔषध मुद्दाका पाँचजना पक्राउ

काठमाडौं । लागुऔषधको ओसारपसारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेसँगै कारोवारी धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले पछिल्लो दुई दिनमा लागुऔषधसहित ५ जना युवालाई उदयपुरको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार चौदण्डिगढि नगरपालिका- ४ सिद्धिपुरका १९ वर्षीय दिपेन राई, सोही नगरपालिकाको वडानं ६ का २६ वर्षीय अनिल बस्नेतलाई नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी त्रियुगा नगरपालिका- ६ पटेर्वा स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको गस्ति टोलिले पैदल हिँड्दै गरेका त्रिनपा ५ का २० वर्षीय सुबिन राई, २२ वर्षीय बिष्णुबहादुर श्रेष्ठ र २० वर्षीय अनिल राईलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रहरीले बेलका नगरपालिका- १ अस्थायी प्रहरी बिट आम्बासीमा सप्तरीको फत्तेपुरबाट पैदल यात्रा गरी आउनेक्रममा शंका लागि चेकजाँच गर्दा दिपनेको साथबाट प्रतिबन्धित लागुऔषध प्रोमेथाजिन १ एम्पुल, लिजेसिक २ एम्पुल, फेनेर्गन १ एम्पुल, नाइट्रोसन ७ ट्याबलेट फेला पारेको सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।

उनीहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा अनुसन्धान सुरू गरिएको उनले बताए । त्यसैगरी प्रहरीले बिष्णुबहादुरको साथबाट एपिडोल ८० ट्याब्लेट, स्पासपेन एक सय ट्याव्लेट र अनिलको साथबाट एपिडोल ६९ ट्याब्लेट, स्पासपेन ५० ट्याव्लेट चेकजाँच गर्ने क्रममा बरामद गरेको डीएसपी चौधरीले बताए ।

लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासताम राखी थप अनुसन्धान भइरहेको उनले बताए । एसपी थापाले लागुऔषधका घटना अत्याधिक बढेकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको बताए ।