पहिरोका कारण पाल्पा–गुल्मी सडकको जोर्ते सडकखण्ड अवरुद्ध

काठमाडौं । पाल्पा–गुल्मी सडकको जोर्ते खण्डमा पहिरो खसेर बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ । तानसेन–रिडी सडक खण्डको रिब्दीकोट गाउँपालिका–२, लघुवा र जोर्तेका बीचमा ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि पाल्पाबाट गुल्मी, अर्घाखाँची, बाग्लुङतर्फ हिँडेका र त्यसतर्फबाट पाल्पा, बुटवल जाने सवारी साधन सडकमै रोकिएका छन् । ढुंगासहितको पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक चौडा गरेको स्थानमा माथिल्लो भेगबाट ठूला ढुंगासहितको पहिरो खसेको यात्रुले बताए ।

एम्बुलेन्स, साना ठूला सयौं सवारी साधन सडकमै रोकिएका छन् । यसैबीच अर्गली–रानीमहल सडकमा खसेको पहिरो हटाइएकाले प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । अर्गलीबाट १५ किलोमिटर टाढा रानीमहल छ भने रानीमहलदेखि तानसेन १३ किलोमिटरमा आउन सकिने भएकाले प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।